१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्न ‘ऊर्जा दशक’ र सङ्कटकाल घोषणा गर्न इप्पानको माग
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी लक्ष्य पूरा गर्न ‘ऊर्जा दशक’ घोषणा गर्दै पूर्वाधार निर्माणमा सङ्कटकाल लगाउनुपर्ने माग गरेका छन्।
बिहीबार काठमाडौँमा आयोजित बजेटसम्बन्धी छलफल कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले नीतिगत उल्झन र सरकारी ढिलासुस्ती कायमै रहे महत्त्वाकांक्षी लक्ष्य पूरा नहुने भन्दै यस्तो माग गरेका हुन्।
अध्यक्ष कार्कीले आगामी आर्थिक वर्षको बजेटमा ट्रान्समिसन (प्रसारण) लाइनलाई प्राथमिकतामा राखेकोमा सरकारको प्रशंसा गरे।
‘हिजो हामीले धेरै ठाउँमा बत्ती बाल्यौँ तर ट्रान्समिसन लाइन नभएको कारणले गर्दा हाम्रा बिजुली खेर गए। यसपालि सरकारले पूर्वाधार र ट्रान्समिसन लाइनका क्षेत्रमा सबभन्दा बढी बजेट छुट्याएको छ, वास्तवमा यो एकदमै स्वागतयोग्य छ,’ उनले भने, ‘ट्रान्सम...










