अझै उठ्न सकेन काठमाडौँका मुख्य मुख्य चोकका फोहर
काठमाडौँ । चार दिनदेखि फोहर उठ्न थाले पनि काठमाडौँका मुख्य मुख्य चोक अझै पनि सफा हुन सकेको छैन । १८ दिनदेखि व्यवस्थापन हुन नसकेको फोहर गत बुधबारदेखि उठाउन थाले पनि कलङ्की, कालीमाटी, खसी बजार, चाहिल, बौद, जोरपाटी लगायतका सडक किनारामा फोहरको डङ्गुर अझै उस्तै नै छ । नियमित परेको पानी र हाल फोहर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलका स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर गत साउन ३२ गतेदेखि उठ्न सकेको थिएन । लामो समयदेखि फोहर सङ्कलन भएर बसेकाले सबै एकैपटक व्यवस्थापन हुन नसकेको काठमाडौँ महानगरपालिकाको भनाइ छ । आगामी तीन दिनभित्रमा यसअघि जम्मा भएर बसेका सबै फोहर सिसडोल लगिने कामपा वातावरण विभगका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । अहिले साविकअनुसार नै फोहर व्यवस्थापनको काम भइरहको छ । “धेरै दिनको सङ्कलित फोहर एकैपटक व्यवस्थापन गर्नुपर्ने भएकाले केही ढिला भएको हो...











